Logo

एमाले धादिङ अधिवेशन: त्रिपाठी र अधिकारीले दिए प्यानल बनाएरै उम्मेदवारी



काठमाडौं,२ फागुन । नेकपा एमाले धादिङको अध्यक्षका लागि मौजुदा अध्यक्ष भूमिप्रसाद त्रिपाठी र रामकुमार अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

वर्तमान अध्यक्ष त्रिपाठी र बागमती प्रदेशका पूर्व राज्यमन्त्री डा अधिकारीले प्यानलसहित मनोनयन दर्ता गरेका हुन् । त्रिपाठीको प्यानलमा उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिव राधिका सापकोटा, खुला उपसचिवमा भक्त लामिछाने र महिला उपसचिवमा उर्मिला रेग्मीको उम्मेदवारी परेको छ ।

त्यस्तै अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार छन् । खुला उपसचिवमा यो प्यानलले पनि भक्त लामिछानेलाई नै समर्थन गरेको छ ।

यसअघि १९ माघबाट सुरु भएको अधिवेशनमा त्रिपाठी र अधिकारी समूहबीच विवाद हुँदा कुटाकुट भएको थियो । कुटाकुटपछि हिजोसम्मका लागि अधिवेशन स्थगित भएको थियो । अधिवेशन स्थगित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो निवास बालकोटमा बोलाएर छलफल गरेका थिए ।

ओली निवासमा भएको छलफलपछि नेताहरु मंगलबारबाट अधिवेशन सञ्चालन गर्न तयार भएका थिए । नेताहरुसँगको छलफलपछि ओलीले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई अध्यक्ष मण्डको नेतृत्व दिएर धादिङ पठाएका थिए । ढकालसँगै अधिवेशन गराउने जिम्मेवारी लिएर माधव ढुंगेल धादिङबेंसी गएका छन् । ढकाल र ढुंगेलसहित अध्यक्ष मण्डलमा धादिङ जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, केन्द्रीय नेताहरु खेम लोहनी, रेशम लामा र जानुका सिंखडा छन् ।

पढ्नुहोस् यो पनि



प्रतिक्रिया दिनुहोस्