काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन जारी रहेको छ । विधान अधिवेशनमा २० वटा समूह बनाएर सामुहिक छलफल भइरहेको छ । विधान अधिवेशनमा समूहगत छलफल चलिरहँदा पार्टीका सबै संरचना प्रत्यक्ष निर्वाचनबाट छान्नुपर्ने सुभाव आएको छ ।
नेताहरु हिमाल शर्मा, परशुराम रम्तेललगायतको समूहले यस्तो सुझाव पेश गरेको हो । उनीहरुले पार्टीको केन्द्रीय कमिटी पनि घटाएर छरितो बनाउन पर्ने प्रस्ताव पेश गरेका छन् ।
माओवादीभित्र सबै संरचनामा प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी छानिनुपर्ने आवाज तीब्र रुपमा उठिरहेको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको गत महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्ष घोषणा गरी अन्य पदाधिकारीहरु मनोनयन गरेदेखि पार्टीमा झनै अन्तरविरोध भइरहेको छ ।
सम्मेलनमा स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरुले भाग लिइरहेका छन् ।