Logo

प्रदेश अध्यक्ष ढुंगेलले च्यापेका अधिकारीलाई हराउँदै एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी विजयी



काठमाडौं,३ फागुन । नेकपा एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा त्रिपाठीले ३०९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका मत ल्याएका छन् । त्रिपाठी र अधिकारीको मतान्तर ७१ रहेको छ।

त्रिपाठी समूहबाटै उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा विजयी भएका छन्। गोरखालीले ३१५ मत र राधिका सापकोटाले ३३८ मत ल्याए।

त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने ३४८ मत र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती ३५१ मत ल्याएर निर्वाचित भएकी छन्।

अधिवेशनमा ५७८ मतदाता रहेकोमा ५५० मत खसेको थियो । निर्वाचित त्रिपाठी यसअघि पनि अध्यक्षनै रहेका थिए भने पराजित अधिकारी बागमती प्रदेशका पूर्व राज्यमन्त्री हुन् । उनलाई प्रदेशका अध्यक्ष कैलाश ढुंगलको समर्थन रहेको थियो ।

ढुंगेल अधिकारीलाई जसरी पनि अध्यक्ष बनाउन लागिपरेको एमाले निकट स्रोतको भनाई छ । धादिङमा एमाले अध्यक्ष अ‍ोली निकटका नेताहरुको दुई गुट रहँदा अधिकारीलाई प्रदेश अध्यक्षको बलियो समर्थन थियो । तर, जिल्लामा त्रिपाठी समूह निक्कै बलियो मानिन्छ । यसअघि पनि ढुंगेलले अधिकारीलाई सर्वसम्मत अध्यक्ष बनाउन निक्कै प्रयास गरेका थिए ।

माघ १९ गतेबाट सुरु जिल्ला अधिवेशन विभिन्न कारणले दुई पक्षबीच कुटाकुट भएपछि स्थगित भएको थियो । अधिवेशनको बन्दसत्र सुरु हुनलाग्दा अधिकारी समूहले नेता सन्तोष खनालमाथि हातपात गरेको त्रिपाठी समूहको आरोप छ । दुईपक्षबीच कुटाकुट भएपछि अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएर छलफल गरेका थिए ।

बालकोटमा भएको छलफलपछि ओलीले अधिवेशन गराउन प्रदेश अध्यक्ष ढुंगेलको ठाउँदा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र युवा नेता माधव ढुंगेललाई खटाएका थिए ।



प्रतिक्रिया दिनुहोस्