Logo

एमालेमा पार्टी शुद्धीकरणको अभियान सुरु, महर र फारुकीमाथि कारबाही, के होला सांसद पद?



काठमाडौं,४ फागुन । नेकपा एमालेले २ जना केन्द्रीय सदस्यलाई पार्टीबाट हटाएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्धय ऐन महर र सराज अहमद फारुकीलाई कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको हो ।

महर यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि आलोचित बनेका थिए भने आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई पनि जिम्मेवारीबाट हटाईएको एमालेले जनाएको छ । २ नेतालाई कारबाही गर्दै एमालेले पार्टीको शुद्धीकरण अभियान थालेको जनाएको छ ।

यसअघिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विचलन देखा परेको भन्दै चिन्ता व्यक्त गरेको थियो। त्यही सचिवालयको बैठकमा उनले उठाएको पार्टीको शुद्धीकरण र सुदृढीकरणको अभियान फागुन ८ गतेदेखि सुरू हुने केन्द्रीय कमिटीको कार्यसूची बन्ने भएको छ।

केही समयअघि एकजना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक संजालमार्फत बहिरिएको थियो ।

आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको दाबी गरिएको थियो । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका थिए ।

एमालेको भातृ संगठन अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका महर पार्टीमा अध्यक्ष केपी ओलीको निकट मानिन्छन् । गएको प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट उम्मेदवार रहेका उनी एकीकृत समाजवादीका नेता तथा संसद्को शिक्षा तथा स्वास्थ्य एवं सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसँग पराजित भएका थिए ।

यता कारबाहीमा परेका अर्का नेता फारुकी प्रतिनिधि सभाका सदस्यसमेत हुन् । एमाले निकट मुस्लिम संघको अध्यक्षसमेत रहेकी कपिलबस्तुका उनी एमालेबाट समानुपातिक सांसद छन् । पार्टीको अनुशासन उल्लंघनको आरोपमा कारबाहीमा परेका फारुकीको सांसद पद पनि धरापमा परेको छ । पार्टीले कारबाही गरे र पार्टीको सिद्धान्तभन्दा बाहिर गएका पार्टीले कारबाही गर्न सक्ने कानूनी व्यवस्था रहेको छ । एमालेले यसबारेमा कुनैपनि प्रतिक्रिया जनाएको छैन् । यद्यपि स्रोतका अनुसार तत्काल उनलाई सांसदबाट नहटाउने नेतृत्वको चाहना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्