Logo

एसीसी वुमन्स प्रिमियर कपबाट बाहिरियो नेपाल



काठमाडौं,४ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल मलेसियासँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले खेल सकिन १ बल बाँकी रहँदा पूरा गर्यो । मलेसियाका लागि इलसा हन्टरले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरिन् । ५२ बलको सामना गरेकी इल्साले ६ चौकाको मद्दतमा ५८ रन जोडिन् ।

मलेसियासँग पराजित नेपाली टिमले अब तेस्रो स्थानका लागि थाईल्याण्डसँग खेल्नेछ । नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल पुगेका थिए । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेटले तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो । मलेसियाले समूह सी बाट इन्डोनेसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।

योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्