Logo

रविलाई मन्त्री किरातीले दिए ‘सुतुरमुर्ग’ को संज्ञा



काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘सुतुरमुर्ग’ को संज्ञा दिएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रविका बारेमा जनताले विस्तारै बुझ्दै गएको बताए ।

लामिछानेले सहकारी समस्या समाधानका लागि गृहमन्त्रीले ठगहरुलाई समाउन नसक्ने भए आफूलाई जिम्मेवारी दिए काम गरेर देखाउने भन्दै दिएको अभिव्यक्तिमा केन्द्रीत हुँदै उनले लामिछाने शिर देखाए खुट्टा देखाउने र खुटा देखाउँदा शिर देखाएर उम्किन खोज्ने प्रवृत्तिको पात्र भएको टिप्पणी गरेका हुन् ।

‘बहालवालाले समाउन पर्छ, पूर्वगृहमन्त्रीले समाउन मिल्दैन । उहाँको बारेमा पनि धेरै कुरा नगरौं । विस्तारै जनताले बुझ्दैछन् । कस्तो हुँदोरहेछ भने एउटा सुतुरमुर्गको कथा लगाउ ? सुतुरमुर्ग भन्ने ठूलो पंक्षी हुन्छ नि, उसको खुट्टा ठूलो– ठूलो हुन्छ । माथी कुखुरा छ, तल खुट्टा ठूलो–ठूलो । अनि तँ त उड्नुपर्ने हो नि भालेजस्तै छस् भन्छ रे । कहाँ म उड्छु र, मेरो खुट्टा हेर त म उँट जस्तो छैन भन्छ रे । शिर देखाउँदा खुट्टा देखाउने । तँ त उँटजस्तै रहेछस् धेरै भारी बोक्छस् होला नि भनेर भन्यो भने– होईन मेरो शिर हेर न म कुखुरा हो नि । म भारी बोक्न कहाँ सक्छु र ? शिर देखाउँदा खुट्टा देखाउने, खुट्टा देखाउँदा शिर देखाउने कसैले पनि गर्न हुँदैन,’– मन्त्री किरातीले भने ।



प्रतिक्रिया दिनुहोस्