काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी देखिएको भन्दै सरकारको ध्यानाकार्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले दोषी पाइए कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् बैठक पनि बोलाइएको बताए । उनले आजकै बैठकले मन्त्री ज्वालालाई कारबाही गर्ने संकेत गरे ।
‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दैछु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले गर्दैछु । आजै क्याविनेट छ । सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । म यो विश्वास दिलाउन चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।
गत पुस १३ गते दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले घटनाको मुख्य जिम्मेवार व्यक्ति मन्त्री ज्वालानै रहेको प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुझाइसकेको छ । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई औंल्याएको छ । मन्त्री ज्वालाकै असंयमताले यति ठूलो घटना घट्न पुगेको जाँचबुझ आयोगको निश्कर्ष छ ।
ईपीएस कोरिया भाषा परीक्षा विवादका क्रममा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनरत प्रदर्शनकारीहरुको समूह भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोहीबाट आएपछि झनै आक्रमक बनेको थियो । उनीहरुले मन्त्री ज्वालाको गाडीसमेत जलाएका थिए । उक्त घटनालाई लिएर मन्त्री ज्वालाको व्यापक आलोचना समेत भएको थियो ।