काठमाडौं, ६ फागुन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको बताएको छ । आज (आइतबार) विज्ञप्ति जारी गर्दै सिबिफिनले सर्वसाधारण, निक्षेपकर्ता तथा ग्राहक वर्गको हकहितका विषयमा बैंक तथा वित्तीय संस्थामा कुनै पनि जोखिम सृजना नभएको बताएको हो ।
‘२०८० पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कूल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको जानकारी गराउदै समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाहरुको जानकारीको लागि सूचित गर्दछौं,’ सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिमार्फत बुझ्न पनि सिबिफिनले ग्राहकवर्गमा अनुरोध गरेको छ ।
साथै, सिबिफिनले मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौं ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा अफवाह फैलाउने, आशंका र अविश्वास बढाउने खालका गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ ।