काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अहिले बैंकहरु डुब्ने र डुब्नसक्ने सम्भावना नरहेको बताएका छन् । पूर्वगभर्नर क्षेत्रीले अहिले बैंहहरुको अवस्था बाहिर हल्ला आएजस्तो नाजुक नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा बाहिर आएका हल्लाहरुलाई ‘फागुन १ गतेदेखि ७ गतेसम्मको कार्यक्रमभित्रको योजना’ को संज्ञा दिए ।
बैंक तथा वित्तीय संस्थाहरुका बचतकर्ता र लगानीकर्तालाई उनले. केन्द्रीय बैंक रहेसम्म आफ्नो बचत सुरक्षित रहनेमा ढुक्क रहन आग्रह गरे । यदि कुनै बैंकको स्थिति नाजुक हुँदै गएको अवस्थामा केन्द्रीय बैंकले त्यसलाई ठीक ठाउँमा ल्याउने काम गर्न उनको भनाइ छ ।
‘म सबैलाई के भन्छु भने–ढुक्क रहनुस्, जहिलेसम्म केन्द्रीय बैंक छ, त्यतिबेलासम्म तपाईँको पैसा डुम्दैन । बैंक लर्खराएछ भने पनि त्यसलाई ठीक ठाउँमा ल्याउने काम केन्द्रीय बैंकले गर्छ,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा पूर्वगभर्नर क्षेत्रीले भने ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘एनआईसी एसिया बैंक डुब्दै छ, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला’ भनेर सामाजिक सञ्जालमा लेखेका थिए । प्रसाईँले सामाजिक सञ्जालमा लेखेपछि ‘एनआईसी एसिया बैंक डुब्दै छ’ भन्ने भ्रम सबैतिर फैलियो । प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा उक्त बैंकका बारेमा दैनिक नकारात्मक समाचारहरु आउन थालेका छन् ।
बैंकको वित्तीय अवस्थाबारे थोरै पनि ज्ञान नभएका प्रसाईँले सामाजिक सञ्जालमा लेखेकै भरमा बैंकले भने आफ्नो व्यवसायिक क्षति व्यहोर्नु पर्यो । तर, अहिले बैंकहरुको अवस्था बाहिर हल्ला आएजस्तो नाजुक नरहेको बताउँछन् पूर्व गभर्नर क्षेत्री ।