Logo

भीम उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लाग्दा एमाले नेताहरु खुसी !



काठमाडौं,७ फागुन । नेपाल सरकारका पूर्व खानेपानी सचिव तथा मिडिया सेलिब्रेटी भीम उपाध्यायविरुद्ध भ्रष्टारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियारले उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग दावी गरेको छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीमाथि छ ।

सचिव पदबाट अवकाश पाएपछि तत्कालीन केपी अ‍ोली नेतृत्वको सरकारविरुद्ध तारान्तार स्टाटस लेखेर भाइरल भएका उपाध्याय विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएपछि एमालेका युवानेताहरुले खुसी व्यक्त गरेका छन् । एमानेका युवा नेताहरु सूर्य थापा, महेश बस्नेत र विष्णु रिजालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपाध्यायको असली चरित्र देखिएको बताएका छन् ।

‘भीम उपाध्याय नामक भ्रष्टाचारको एकजना सरदारले गरेको गाली बेइज्जती भोग्नेहरू आज उनको नाममा ४ करोड २० लाखको राष्ट्रिय लुटखसोट थाहा भएर बल्ल सक्कली चेहरा खुलेको तथ्यसँगै चारछक परेका हुनुपर्छ। भ्रष्ट लुटेराको भ्रष्टाचारविरोधी अभिनय बल्ल उदाङ्गो भयो’ एमाले नेता सूर्य थापाले लेखेका छन् ।

एमालेकै अर्का युवा नेता रिजालले पनि सामाजिक सञ्जालमा कसैलाई नराम्रो हुँदा खुच्चिङ गर्नु राम्रो नभएपछि उपाध्यायले अत्तिनै गरेको बताएका छन् । ‘पूर्वसचिव भीम उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लाग्दा धेरै मानिसहरु खुसी भएको पाइन्छ । उनले गरेको भ्रामक सूचना (डिस्इन्फर्मेसन) को खेतीको शिकार अरु त अरु हाम्रो जिल्लाका इमानदार नेता सूर्यबहादुर शाही (हालै नेकपा एमाले दैलेखको अध्यक्ष निर्वाचित) समेत हुनुएको थियो‘ उनले भनेका छन् ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयर लडेको बेला मतदाता भेटिरहेको एउटा तस्वीमा फोटोसपबाट हातमा हजार रुपियाँको नोट राखिदिएर पैसा बाँडेको भ्रामक तस्वीरसहित उनले कुप्रचार गरिदिएको रिजालको भनाइ छ । ‘किन यस्तो गर्नुभयो भनेर कुरा गर्दा न यिनले माफी मागे, न तस्वीर हटाए । ‘मैले त्यस्तै पाएँ, अनि हालेँ’ भन्ने गैरजिम्मेवार जवाफ दिए’उनले लेखेका छन् ‘सरकारको सचिव भइसकेर पनि नेपालमा ुडिस्इन्फर्मेसनुका अभियन्ता र कथित सुशासनका पक्षपाती भीम उपाध्यायको वास्ताविक अनुहार अख्तियारले उदांगो पारिदिएको छ’ ।

त्यस्तै एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पनि उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि प्रतिक्रिया जनाउँदै कथित सदाचारको गफ लगाउने भीम उपाध्ययको धोति फुस्किएको टिप्पणी गरेका छन् । ‘पूर्ब सचिव तथा कथित अभियान्ता भीम उपाध्याय विरुद्ध मेलम्ची खानेपानीको आयोजनामा ४ करोड ११ लाख भ्रष्टाचार गरेको दाबि सहित अख्तियारले मुद्दा दर्ता गरेछ । कथित सदाचारको गफ लगाउने भीम उपाध्ययको धोति फुस्किएछ’ बस्नेताले भनेका छन् ।

उनी सामाजिक सञ्जालमा सुशासन र भ्रष्टाचारविरुद्ध स्टाटस लेखेर थाक्दैनन्। यति मात्र होइन, अन्य विषयमा पनि उनी अरूको उछितो काढ्न पछि पर्दैनन्।



प्रतिक्रिया दिनुहोस्