काठमाडौं, ९ फागुन । नेकपा (एमाले) कैलालीको अध्यक्ष चयनमा सहमतिको प्रयास असफल भएको छ । सहमतिको प्रयास असफल भएसँगै निर्वाचनबाट अध्यक्ष चयनको प्रक्रिया थालिएको छ । अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षका लागि दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, यज्ञराज ढुंगाना र कमलसिंह रानाले मनोनयन दर्ता गराएका छन् । जोशी हालका कार्यवहाक अध्यक्षसमेत हुन भने पाण्डे सचिव हुन् । ढुंगाना पूर्वप्रदेश सचिवालय सदस्य हुन् भने अर्का उम्मेदवार राना भने जिल्ला कमिटी सदस्य हुन् ।
त्यसैगरी, उपाध्यक्षमा छ जनाको उम्मेदवारी परेको छ भने सचिवमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाले मनोनयन दर्ता गराएका हुन् । ममताप्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दले उम्मेदवारी सचिव पदका लागि परेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठकमा भने महासचिव शंकर पोखरेलले जिल्ला अधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाउने प्रस्तावसहितको सांगठनिक प्रस्ताव पेश गरेका छन् । ०८१ साल जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सकिसक्न केन्द्रले पत्राचार गरिसकेको छ ।