Logo

प्रतिनिधि सभा चार नेताहरुको रबर स्ट्याप्प बन्योः सिके राउत



काठमाडौं, १० फागुन । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउतले राज्यका सबै निकायहरु असफल दिशातिर गइरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका असफल बन्दै गएको बताएका हुन् । सरकारका अंगहरु प्रतिनिधि सभा चार जना नेताहरुको रबर स्ट्याम्प बनेर प्रयोग भइरहेको उनको आरोप छ । त्यसैगरी, उनले न्यायपालिकामा न्याय विक्री भइरहेको बताए । नेता राउतले न्यायलयमा बेन्च सपिङ भइरहेको दाबी गरे ।

त्यसैगरी, संवैधानिक निकायहरु सरकारको निर्देशनमा ज्यू हजुरीमै व्यस्त रहेको उनको टिप्पणी छ । कार्यपालिका अन्तर्गतको सरकारले विगत एक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयमा कुनै पनि नयाँ र राम्रा काम गर्न नसकेको उनको दाबी छ । उनले सरकारले डेलिभरीको सन्दर्भमा कुनै नयाँ काम गर्ने संकेत पनि नदेखिएको बताए ।

‘व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइराखेको प्रतित भइराखेको छ । प्रतिनिधि सभाको कुरा गर्नुहुन्छ भने चार नेताको रबर स्ट्याम्पजस्तै, संक्षिप्त रुपमा भन्ने हो भने प्रयोग भइराखेको छ । न्यायपालिका भन्नुहुन्छ भने बेन्च सपिङ भइराखेको अवस्था छ ।’ उनले भने, ‘त्यहाँबाट न्याय पाउने कुनै आशानै गर्न नसकिने अवस्था छ । संवैधानिक निकाय जतिपनि छन्, सरकारको निर्देशनमा ज्यू हजुरी गर्नमा मात्रै व्यस्त भएका छन् । कार्यपालिकाको अवस्था यस्तो छ कि शिक्षा, स्वास्थ्य कुनै पनि कुरामा डेलिभरी गर्न सक्ने अवस्था देखिएको छैन । संकेत पनि देखिएको छैन ।’

आफू पनि वर्तमान गठबन्धन सरकारमै रहेको स्मरण गराउँदै नेता राउतले गठबन्धन दलको बैठकमा कहिले पनि जन सरोकारको मुद्दामा छलफल नै नभएको बताए । सत्तामा कसरी टिक्ने, गठबन्धनमा कसरी टिक्ने र विरोधीहरुलाई कसरी तह लगाउनेबारे मात्रै छलफल भएको उनको दाबी छ । सरकारले धोती लगाउँदासमेत षड्यन्त्र देख्ने गरेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्