Logo

लाखौं विदेशीहरुले नेपालमा काम गरिरहेको प्रभु साहको खुलासा



काठमाडौं, १० फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारी मान्यताप्राप्त कम्पनीहरुमा लाखौं विदेशीहरुले काम गरिरहेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली युवाहरुलाई विदेश पठाएर लाखौं विदेशीहरुलाई नेपालमा काम गर्न दिनु अन्याय भएको बताए । उनले ती विदेशीहरुले कुन कानुनअन्तर्गत नेपालमा काम गरिरहेका छन् ? भनी सरकारलाई प्रश्न गरे ।

नेपाली युवाहरुलाई विदेश पठाएर विदेशीलाई रोजगारी दिइरहँदा आफूलाई नेपालीको सरकार हो कि विदेशीको सरकार हो भन्ने आभाष भएको बताए । नेता साहले नेपालीहरुको सरकार हो भने नेपाली युवाहरुलाई रोजगारी दिनुपर्ने बताए । रोजगार संवैधानिक अधिकार भएकाले यसको अनुभूति सरकारले दिलाउन पर्ने बताए । मौलिक हकको रक्षा नगर्नेहरु नैतिकताले पदमा बस्न नहुने बताए ।

‘विदेशबाट युवाहरु फर्काउँछौं । नेपालमै रोजगारी दिन्छौं भन्नेहरु आजकाल कहाँ हराएकोजस्तो लाग्छ । विदेशीहरु जसरी काम गरिरहेका छन्, हरेक उद्योगहरुमा, लाखौंको संख्यामा नेपालमा काम गरिरहेका छन् ।’ उनले भने, ‘रोजगार छ, तर नेपालीले पाइरहेका छैनन् । नेपाली बाहिर मर्न पर्ने अवस्था छ । यहाँ ट्रेड युनियनहरु कहाँ हराएका छन् ? उनीहरुले यो हेर्नुपर्छ कि पर्दैन ?’



प्रतिक्रिया दिनुहोस्