Logo

हार स्वीकार गर्न ठूलो हिम्मत चाहिन्छ, लिग-२ मा भएका गल्तीहरूलाई सच्याएर टी-२० मा राम्रो खेल्नेछौँ: कप्तान रोहित



काठमाडौं,१५ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले हालै भएको लिग २ को खेलमा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रष्ट पारेका छन् ।

क्यानको आयोजनामा नेपाल,नामिबिया र नेदरल्याण्डस् बीच आजबाट सुरु हुन लागेको टी-२० त्रिकोणात्मक सिरिजको पूर्वसन्ध्यामा क्यानले सार्वजनिक गरेको एक भिडियो सन्देशमा पौडेलले लिग-२ मा भएका गल्तीलाई सच्याएर टी-२० मा राम्रो गर्ने विश्वास लिएका छन् ।

‘ओडीआइमा जेजस्ता गल्तीहरू भए, त्यसलाई सच्याएर टी-२० मा राम्रो क्रिकेट खेल्नेछौँ । एउटा टीमको रूपमा हाम्रो विश्वास र भरोसा अहिले पनि कायम छ । टीमको वातावरण पनि सकारात्मक रहेको छ । यसलाई लिएर म एकदम खुशी छु ।’उनले भनेका छन् ।

हारका बाबजुद टिमका सबै जना सकारात्मक रहेको उनको भनाइ छ । फ्यानहरू निराश भए पनि खेलको सुन्दरता नै जित र हार रहेको पौडेलले बताएका छन् ।

‘खेलमा जित र हार भइरहेको हुन्छ । मलाई फिल हुन्छ कि खेलको सुन्दरता नै यही हो । हार स्वीकार गर्न पनि ठूलो हिम्मत चाहिन्छ । खेलाडीका रूपमा हामीले यो कुराहरू सिकेका छौँ । जित्दा मात्र रमाउने होइन हामीले असफलतालाई पनि स्वीकार्न सक्नुपर्छ ।

पौडेलले दर्शकको निरन्तर समर्थनका लागि आभार प्रकट गरेका छन् । कुनै पनि एसोसिएट्स राष्ट्रमा नेपालमाजस्तो समर्थन नपाइने उनी बताउँछन् ।

‘तपाईँहरूले आएर समर्थन गर्नुभएकोमा मलगायत सिंगो टीमका तर्फबाट हार्दिक धन्यवाद । आउँदो खेलमा हामी सबैले आफ्नो पूरा प्रयास लगाउनेछौँ । आफ्नो देश र फ्यानका लागि खेल्नेछौँ । सबैलाई गौरवान्वित गराउनेछौँ ।’

प्रशिक्षक देसाईँले सबैभन्दा ठूलो कुरा भरोसा भएको बताएका छन् । बाहिरको हल्लाबाट खेलाडीहरू टाढा बस्नुपर्ने उनको सुझाव छ ।

आईसीसी विश्व लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्डस सँग प्रतिस्पर्धा गरेको थियो । जसमा नेदरल्याण्डससँग एक खेलमा जित निकाल्दा अरु सबै तीन खेल हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्