Logo

संसद् भवन परिसरमा लघुवित्त पीडित प्रवेश गरेको घटनामा गृहमन्त्रीकै भूमिकामाथि आशंका



काठमाडौं, १५ फागुन । संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै संसद्को बैठक जारी थियो । बैठक जारी रहेको अवस्थामा सुरक्षा घेरा तोडेर लघुवित्त पीडितहरु संसद् भवन परिसरमा प्रवेश गरे । संसद् भवन परिसरमा लघुवित्त पीडितहरु प्रवेश गरेको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

उक्त घटनापछि संसद् सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएर नयाँ टोली परिचालन गरिएको छ । अहिले संसद् भवनको चारैतिरको सुरक्षा ब्यवस्था एकदमै कडासमेत गरिएको छ । संसद् भवन परिसरमा ठूलो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् ।

उक्त घटनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजोनै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकार र काठमाडौं प्रहरी प्रमुखलाई सिंहदरबार बोलाएर सोधपुछ गरेका थिए ।

गृहमन्त्री श्रेष्ठ उक्त बैठकमा प्रहरीका महानरीक्षक कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतलाई बोलाएर जानकारी लिएका थिए ।

संसद् भवन परिसरमा लघुवित्त पीडितहरु छिर्नु गम्भीर सुरक्षा कमजोरी भएको भन्दै गृहमन्त्री श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका थिए । सो क्रममा प्रहरी महानिरीक्षक कुँँबरले सुरक्षा निकायलाई कमजोर बनाउ गृहमन्त्री आफैं लागिपरेको भन्दै आक्रोश ब्यक्त गरे । सो क्रममा गृहमन्त्री श्रेष्ठ र प्रहरी प्रमुख कुँबरबीच चर्काचर्की नै भएको स्रोतले बतायो ।

लघुवित्त पीडितहरुलाई प्रदर्शन र विरोध गर्नका लागि सिफलमा कार्यक्रमस्थल तोकिएको र उनीहरुको विरोध प्रदर्शन त्यहाँबाट बाहिर आउन नपाउने गरी ब्यवस्थापन गर्न खोज्दा गृहमन्त्रीले नै सुरक्षाकर्मीहरुलाई सुरक्षा ब्यबस्थामा कडाइ गर्न रोकेको स्रोतको दाबी छ ।

उक्त विषयमा गृहमन्त्री श्रेष्ठकै भूमिका शंकास्पद देखिएको छ । लोकप्रियता र राजनीतिका लागि गृहमन्त्री श्रेष्ठले गम्भीर गल्ति गरेको भन्दै उनको आलोचना सुरु भएको छ । राजनीतिक नेतृत्वको गल्ति र कमीकमजोरीका कारण सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने परिस्थिति निर्माण भएको भन्दै प्रहरी प्रमुख कुँबरले बैठकमै असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ ।

त्यस्तै, बैठकमा सहभागी भएका सुरक्षा निकायका अन्य अधिकारीहरुले पनि राजनीतिक नेतृत्वको कारण यसरी सुरक्षा निकायलाई बदनाम गराउँदै जाने परिपाटीले संगठनलाई नै प्यारालाइज गराउने भन्दै असन्तुष्टि व्यक्त गरे ।

पछिल्लो समय देशको सुरक्षा ब्यवस्थामाथि चुनौति आइरहेको छ । दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटना, सर्लाहीको बरहथवा नगरपालिकामा एक जना युवाको मृत्यु हुनेगरी भएको घटनालगायतले देशको शान्ति सुरक्षालाई चुनौति दिइरहेको छ । यसरी भएका विभिन्न घटनामा सानो पदमा रहेका कर्मचारीलाई कारबाही गर्ने, ठूला पदमा रहेका, आदेश दिने अधिकारी र राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने परिपाटीले आम नागरिकमा असन्तुष्टि चुलिँदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्