Logo

पार्टी निर्णयबारे खगराज: मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य



काठमाडौं,१६ फागुन । नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य खगराज भट्टले आफूलाई प्रदेश इन्चार्जबाट हटाईएपछि आपत्ति जनाएका छन् ।

माओवादी केन्द्रका आज बसेको पार्टी स्थायी समिति बैठके सुदूरपश्चिममा खगराजलाई हटाउँदै उपमहासचिव गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिईएको थियो । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलका निवर्तमान नेतासमेत रहेका भट्ट केही दिनअघि मात्र दलको नेताबाट पनि हटाईएका थिए ।

स्थायी समितिको आज बसेको बैठकले भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानवहादुर धामीलाई नयाँ संसदीय दलको नेता बनाउने निर्णय पनि सदर गरेको थियो । दलको नेता र प्रदेश इन्चार्ज दुवैबाट हटाईएपछि उनले आफ्नो ३४ वर्षको राजनीतिक करिअर सक्न बनेको डिजाइन भएको उल्लेख गरेका छन् ।

भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’

भट्टलाई दलको नेता र इन्चार्जबाट हटाउने निर्णयविरुद्धउ पमहासचिव जनार्दन शर्माले फरक मत राखेका छन् । उनले आफ्नो फरक मतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई र बुहारीले जिम्मेवारी पाउँदा ३ दशकदेखि योगदान दिएका र पार्टीमा प्रश्न उठाउनेहरुलाई भूमिकाविहीन बनाइएको उल्लेख गरेका छन् ।

‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएका गतिविधिहरूका आधारमा दर्जनभन्दा बढी कमरेडहरूलाई बेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ’, शर्माले भनेका छन्, ‘उक्त प्रदेशमा बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती–महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर छ।’

शर्माले खगराज भट्टराई सबै जिम्मेवारीबाट मुक्त गरेर राजनीतिक रुपमै विस्थापित गर्ने खेल भइरहेको पनि बताएका छन्।

‘खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु’, उनले भनेका छन्, ‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु। तर यसभित्रको अन्तर्निहीत उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौँला भन्दै टारिएको अवस्था जगजाहेर छ।’



प्रतिक्रिया दिनुहोस्