Logo

दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै गिरीले भने, ‘बैंकविरुद्ध अफवाह सिर्जना गर्नेलाई हत्कडी लगाउनुपर्छ’



काठमाडौं, २० फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेहरुलाई तत्काल हत्कडी लगाउन पर्ने बताएका छन् । आज (आइतबार) अर्थ समितिको बैठकमा उनले अहिले समस्या सहकारीबाट बैंकतर्फ सुरु भएको भन्दै उनले यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।

केही समयअघि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एनआईसी एशिया बैंक डुब्दैछ भनेर अफवाह फैलाएका थिए । उनले एनआईसी एशियाबाट पैसा निकालिहाल्न आग्रह गरेका थिए ।

सचेतक गिरीले प्रसाईँप्रति लक्षित गर्दै त्यस्ता मानिसहरुलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए । ‘समस्या सहकारी हुँदै बैंकतिर पनि सर्दैै आयो । बैंकहरु र वित्तीय संस्थाविरुद्ध अफवाह सिर्जना गर्नेका विरुद्ध तत्काल हत्कडी लगाएर कारबाहीको दायरामा ल्याउन पर्छ । त्यस्ता मान्छेलाई कुनै पनि प्रकारले उन्मुक्ति दिन हुँदैन, छुट दिन हुँदैन,’– उनले भने ।

सरकारले सहकारीका कोही पनि निक्षेपकर्ताको बचत हिनामिन हुँदैन, त्यस्तो हुँदाखेरी सरकार जवाफदेही र कमजोरी गरेकालाई कारबाहीको दायरामा ल्याउँछौं भन्न सकेमा समस्या समाधानको बाटोमा जाने उनको भनाइ छ ।

साथै, सरकारले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई अनुसन्धान नै नगरी थुनेको भन्दै उनले आपत्ति जनाए । कुनै पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि लागेको आरोपमा उसमाथि निश्पक्ष छानविन हुनुपर्ने र राष्ट्र बैंकको समेत राय लिएर कारबाही गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्