Logo

माधव नेपाल फकाउँदै ओली



काठमाडौं,२२ फागुन । पूरानो गठबन्धन दुर्घटनामा परेर नयाँ सत्ता गठबन्धन निर्माण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेर सत्ता गठबन्धनमा आउन आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल अस्वस्थ भएर घरमै आराम गरिरहेका छन् । नेपाललाई सोमबार साँझ अर्का पूर्व प्रधानमन्त्री ओलीले टेलिफोन गरेका हुन् । ओलीले टेलिफोनमा नेपाललाई स्वास्थ्य लाभको कामना गर्दै मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

ओलीले फोन गर्दा एमाले र माओवादी केन्द्रका केही नेताहरु पनि साथमै रहेको स्रोतले जनाएको छ । ओलीले नेपाललाई सत्ता गठबन्धनमा सामेल हुन गरेको आग्रहलाई नेपालले पनि सकारात्मक रुपमा लिएको स्रोतको दाबी छ ।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेयता पानी बाराबारको अवस्था रहेको छ । यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले समेत नेता नेपाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । प्रचण्डले नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि ल्याउन कसरत गरिरहेका छन् । सोही कसरतस्वरुप पूर्वप्रधानमन्त्री नेपाललाई फकाउन उनकै निवासमा पुगेको आकलन गरिएको छ ।

कांग्रेससँग गठबन्धन तोडेर (एमाले)सँग नयाँ गठबन्धन बनाउने प्रक्रियामा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको भन्दै नेपाल रुष्ट देखिन्छन् ।

कांग्रेस सम्मिलित गठबन्धन तोडेर सोमबार एमालेसहितको गठबन्धन बनेको थियो । गठबन्धनमा एमाले-माओवादीसहित रास्वपा र जसपा अटे पनि एकीकृत समाजवादी भने अटेको छैन ।

यसअघि केही दिनअघि नेपालले जनकपुर पुगेर देश बनाउने कुरामा सबै पूर्वप्रधानमन्त्रीहरूबीच सहकार्य हुनुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्