काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग नयाँ गठबन्धन गरेर सरकार बनाएपछि कांग्रेस अहिले सत्ताबाहिर छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरिसकेको छ । २०७९ पुस १० गते प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री दिन अस्विकार गर्दा कांग्रेस–माओवादीको गठबन्धन टुटेको थियो । उक्त गठबन्धनपछि एक महिना पुग्दा नपुग्दै जोडियो । तर, अहिले राष्ट्रिय सभा सदस्य निर्वाचन र राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनसम्म आइपुग्दा कांग्रेससँगको गठबन्धन टुटेको छ ।
गठबन्धन टुटेसँगै कांग्रेसले प्रचण्ड सरकार ढाल्न सकृयता बढाएको छ । कुनै बेला राष्ट्रिय दलको मान्यता नपाएको भनेर पटक–पटक अपमान गरेको पार्टी नेकपा (एकीकृत समाजवादी) अहिले निर्णाय शक्ति बनेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफलका लागि प्रधानमन्त्री प्रचण्डदेखि संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन् । आज माधव निवास कोटेश्वर पुगेर देउवाले कांग्रेसको पक्षमा सहयोग गर्न अध्यक्ष नेपाललाई आग्रह गरेका छन् ।
भेटमा उनले आफूले सहयोग गर्दा पनि प्रधानमन्त्री प्रचण्डले सहकार्य तोडेको भन्दै असन्तुष्टि ब्यक्त गरेको स्रोतको दाबी छ । त्यस्तै हिजो (मंगलबार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्री प्रचण्डको कदमले अन्यौल र अस्थिरतालाई बढवा दिएको निश्कर्ष निकालेको थियो ।
यसरी, कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नभएर आफूलाई सहयोग गर्न प्रस्ताव गरेको बताइएको छ । साथै, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसले प्रधानमन्त्री बनिदिन प्रस्ताव पठाएको समेत स्रोतको दाबी छ ।