काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कदमले अस्थिरता र अन्यौलता सिर्जना भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले कांग्रेस–माओवादीको गठबन्धन टुट्दा मुलुकमा अन्यौलता र अस्थिरता सिर्जना भएको बताएका हुन् । उनले माओवादी–एमाले गठबन्धन धेरै लामो समय नटिक्ने दाबी गरे । एमालेसहितको बनेको नयाँ गठबन्धनमा बन्न नपाउँदै असन्तुष्टि सिर्जना भएको बताए ।
‘हामी प्रतिपक्षमा छौं, प्रतिपक्षमा भएपनि मलाई के लाग्छ भने जुन दिशातर्फ उहाँ (प्रचण्ड) ले उन्मुख गराउनु भएको छ, अस्थिरता र अन्यौलतातर्फ । यो उहाँको धेरै टिक्दैन ।’ उनले भने, ‘अहिले नै देखिइराखेको छ, हरेकले यो चाहियो, त्यो चाहियो, यो भएन भने हामी बस्दैनौं भन्ने कुरा बन्न पाएको छैन सुरुवात भएको छ । हामीले त त्यसमा कुनै भूमिका खेलेको छैनौं । हामी त चुप लागेर बसेका छौं । समस्या त सुरुमै देखिएको छ नि ।’
माओवादीले गठबन्धन तोडेर आफूहरु प्रतिपक्षमा पुग्दा कांग्रेसलाई कुनै बेफाइदा नभएको बताए । उनले कालान्तरमा प्रचण्डको यो निर्णयबाट उनैलाई बेफाइदा हुने उनको दाबी छ । कांग्रेसले २०७९ मंसिरमा भएको आम निर्वाचनपछि दुई पटक यू टर्न लिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
‘कांग्रेस कुनै निरिह भएको छैन । यसले कांग्रेसलाई कुनै बेफाइदा भएको छैन । उहाँ (प्रचण्ड) ले विश्वासमा काम गर्नुभएन । दुई पटकसम्म यू टर्न गर्नुभयो । यसबाट बेफाइदा कसैलाई छ भने उहाँलाई नै हुँदैछ,’– उनले भने ।