Logo

कांग्रेसले जनयुद्धको दानवीकरण गर्योः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले जनयुद्धलाई न्युनीकरणमात्रै नगरेर दानवीकरण नै गरेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले महासमिति बैठकमा पेश गरेको प्रतिवेदनले जनयुद्धको मानमर्दन गरेको बताएका हुन् । कांग्रेसको महासमिति बैठकमा पेश भएको प्रतिवेदनले ०४७ सालकै संविधान ठीक भन्ने आशय ब्यक्त गरेको बताए । जसका कारण गठबन्धनमा खटपट आएको उनले बताए ।

‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो ।’ उनले भने, ‘यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।’

साथै, कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा गरेको उनले गरेको बताए । गठबन्धनले नै कांग्रेसलाई पहिलो पार्टी बनाएपनि महासमिति बैठकमा गठबन्धन विरुद्ध बोलिएको बताए । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक नभएको प्रचण्डको भनाइ छ ।

कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर धर्मका नाममा हस्ताक्षर अभियान चलाएको भन्दै उनले आपत्ति व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्