काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा मन्त्रिपरिषद् गठन गरेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्नुका केही कारण आज (बिहीबार) को संसद् बैठकमा बताए ।
उनले कांग्रेसबाट कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा पाएको धोका, महासमिति बैठकमा कांग्रेसले गठबन्धनका बारेमा गरेका टिकाटिप्पणी, गठबन्धनको औचित्यमाथि उठाएको प्रश्न, जनयुद्धलाई अपमान गरेको र संविधानको मर्मविपरीत हिन्दु धर्मको स्टल थापेकाले गठबन्धन टुटेको बताए ।
त्यस्तै, कांग्रेस–माओवादीको गठबन्धन टुट्नुमा पूर्व अर्थमन्त्री प्रकाशशरण महतको भूमिकाले काम गरेको पनि चर्चा हुने गरेको छ । तत्कालीन अर्थमन्त्री महत र प्रधानमन्त्री प्रचण्डबीचको टकारावले गठबन्धन टुटेको धेरैको बुझाइ छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डे पनि कांग्रेस–माओवादीको बीचको गठबन्धन टुट्नुको प्रमुख कारक तत्व तत्कालीन अर्थमन्त्री महतनै रहेको बताउँछन् । कांग्रेसले हैसियत नै नभएको महतलाई अर्थमन्त्री बनाएको उनको टिप्पणी छ । साथै, अर्थमन्त्री र प्रधानमन्त्रीबीच छलफल नभएको तीन महिना भएको र अर्थमन्त्रीले प्रधानमन्त्रीको फोनसमेत नउठाएको आफूलाई जानकारी रहेको उनले बताए ।
‘अर्थमन्त्रीले प्रधानमन्त्रीको मुख नहेरेको तीन महिना भएको थियो भन्ने मैले सुनेको थिए । प्रधानमन्त्रीको फोन प्रकाशशरण महतले उठाउनुहुन्नथ्यो रे,’– नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पाण्डेले भने ।