काठमाडौं, २७ फागुन । नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पद बहाली गरेका छन् । आज (आइतबार) पद तथा गोपनियताको शपथ लिएका मन्त्री यादवले लगतै मन्त्रालयमा पुगेर पद बहाली गरेका हुन् । पदबहाली गर्दै उनले सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । उनले स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने समेत निर्णय गरे ।
“बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । यसलाई सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने छौ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्नेछौ ।”
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी विस २०७५ मा पनि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका थिए ।
विस २०३२ सालमा वामपन्थी विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका यादव नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँदै राजनीतिमा सक्रिय थिए । उनी विस २०४८ सालदेखि नेकपा (एमाले) मा आवद्ध थिए । विस २०६३ सालदेखि मधेसी जनअधिकार फोरम, नेपालको गठन गरी अध्यक्षको भूमिका निर्वाह गरे । यादव हाल जसपा नेपालको अध्यक्ष छन् । उनी विस २०६४ को संविधान सभा निर्वाचनमामा सुनसरी–५ र मोरङ–५ बाट, विस २०७० मा सुनसरी–५ बाट र २०७४ मा सप्तरी–२ बाट निर्वाचित थिए ।Photo By: Mukunda Kalikote/RN