Logo

तुम्बाहाङफेकै नियति भोग्दै उर्मिला, प्रचण्डले भाई रोज्दा उपाध्यक्ष गुम्ने निश्चित



काठमाडौं,२८ फागुन । राष्ट्रिय सभाको रिक्त रहको अध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनका लागि समय छुट्टयाईएको छ ।

राष्ट्रिय सभाका लागि नारायण दाहाल र युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । दाहाल सत्ता गठबन्धन र शमौ प्रतिपक्षीबाट उम्मेदवार बन्न लागेका हुन् । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका दाहाल प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहोदर भाई हुन् । उनी सरकारको सिफारिसमा २५ चैत २०७९ मा राष्ट्रपतिबाट मनोनित सांसद हुन् ।

माओवादी केन्द्रमा अध्यक्षका लागि दाहालसँगै हालकी उपाध्यक्ष उर्मिला अर्याल र नवनिर्वाचित सांसद झक्कु सुवेदी आकांक्षी रहेका थिए । सुवेदी गत माघ ११ गते निर्वाचित भएका हुन् भने अर्याल १२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएर २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।

अर्याल र दाहाल दुवैको कार्यकाल ४ वर्ष बाँकी रहेको हुँदा ६ वर्षे कार्यकालको व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने मत बलियो हुँदा पनि प्रधानमन्त्रीको भाई भएकै कारण उनले टिकट पाएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । दाहाल २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रशासनिक सल्लाहाकार थिए । उनका छोरा समिर २०६६ देखि २०६९ सम्म प्रचण्डको स्वकीय सचिव थिए ।

२०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य भएका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिका संसदमा सदस्य भए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका उनी २०७० मा भने पराजित भएका थिए ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार अध्यक्ष माओवादी र उपाध्यक्ष नेकपा एमालेले पाउनेछ । त्ता गठबन्धनमा प्रष्ट बहुमत रहेको हुँद्या दाहाल मंगलबार हुने निर्वाचनबाट अध्यक्ष चुनिने निश्चित जस्तै रहेको छ ।

दाहाल अध्यक्ष निर्वाचित हुनासाथ हालकी उपाध्यक्ष अर्यालले भने पद गुमाउनुपर्ने छ । संविधान अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा सभामुख अध्यक्ष र उपसभामखु उपाध्यक्ष एउटै दलको हुन नहुने व्यवस्था रहेको छ । संविधानको सोही व्यवस्था अनुसार मंगलबार अध्यक्षको निर्वाचन लगत्तै अर्यालले पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।

अर्यालले राजीनामा दिनुपर्ने अवस्था तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङफेसँग मिल्न गएको छ । २०७६ सालमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङफेले सभामुखमा दाबी गरेकी थिइन् । सत्तारुढ तत्कालीन नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दासमेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् ।

तर, तत्कालिन नेकपाको एउटा पक्षले अग्नि सापकोटाको पक्षमा अडान दिए । तयसमा ओली सहमत भएपछि सापकोटालाई सभामुख बनाउन तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराइएको थियो । उनी पछि तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा कानून न्याय तथा संसदीय मामिलामन्त्री बनेकी थिईन् । ७६ सालमा तुम्हाहाम्फेले जस्तै अहिले अर्यालले त्यही नियति भोगेकी छन् ।



प्रतिक्रिया दिनुहोस्