काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसलाई कहिले पनि धोका नदिएको बताएका छन् । विश्वासको मत लिनुभन्दा पहिला आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धोकाको आरोप बरु एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाउन मिल्ने तर कांग्रेसले नमिल्ने बताए ।
‘बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरु र त्यसको मुख्य नेतृत्व माननीय केपी ओलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँले बनाउने अनि खुरुक्क कांग्रेसमा जाने । उहाँले लगाउँदा त्यो मिल्दोजुल्दो हुन्छ । कांग्रेसले लगाएर मिल्दैन,’– उनले भने ।
साथै, कांग्रेसले आफूलाई भिलेन बनाउन खोजेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई पटक प्रधानमन्त्री बनाएको तथ्य नबिर्सन पनि आग्रह गरे ।