Logo

पूर्वअर्थमन्त्री महतले ल्याएको बजेटका सिद्धान्तको स्वामित्व लिन एमालेले गर्‍यो अस्वीकार



काठमाडौं,१ चैत । सत्तारुढ दल नेकपा एमालेले पूर्व अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा पेश गरेको आगाममी आर्थिक वर्षको विनियोजत बजेटका सिद्धान्त र प्राथमिकताको स्वामित्व लिन अस्वीकार गरेको छ ।

सत्ता समीकरण फेरबदल भएपछि सत्तापक्षमा पुगेको एमालेले पूर्वमन्त्री महतले ल्याएको उक्त प्रस्ताव पुर्नलेखाङ्कन गर्नुपर्ने बताएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटका प्राथकिमकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले पूर्व अर्थमन्त्री महतले ल्याएको सिद्धान्त समर्थन गर्न लायक नभएको बताएका छन् ।

‘संसद्मा पेश भएका बजेटका प्राथमिकता र सिद्धान्त समर्थन गर्न लायक छैनन् । यसले मन्त्रिपरिषद्मा पुनर्गठनको औचित्य पुष्टि भएको छ । सिद्धान्त र प्राथमिकता हेर्दा, न सिद्धान्त छ, न प्राथमिकता छ । शब्द र वाक्यको भीड मात्र छ,’ उनले भने, ‘नयाँ अर्थमन्त्रीले शीरदेखि तीरसम्म पुनर्लेखन गरेर मात्र बजेट ल्याउनु होला ।’

पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका सांसद पौडेलले अर्थतन्त्र संकटमा छैन भनेर नागरिकलाई पूर्व अर्थमन्त्री महतले गुमराहमा राखेको समेत दाबी गरेका छन् । उनले विभिन्न आर्थिक सूचकका आधारमा पनि अर्थतन्त्र संकटको डीलमा रहेको प्रष्ट हुने बताए ।

उनले भने ‘निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले समस्या चिनेको र समाधान दिन सक्ने सिद्धान्त र प्राथमिकता नआएको हुनले यसलाई पुनर्लेखन गरेर समस्या चिन्न सक्ने र समाधान दिन सक्ने अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्न सक्ने गरी पुनर्लेखन गर्नुपर्छ’।



प्रतिक्रिया दिनुहोस्