Logo

न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक जारी



काठमाडौं,२ चैत । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ ।

त्यसका लागि आज बिहान नौ बजेदेखि कार्यदलको बैठक अर्थ मन्त्रालयमा जारी रहेको छ ।

कार्यदलको बैठक बिहीबार दिउँसो ४ बजे सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि बिहीबारको बैठक निश्कर्षविहीन बनेको थियो ।

आज बसिरहेको बैठकले टुंगिन बाँकी रहेका विषयलाई मिलाएर मस्यौदाको प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाउनेछ । फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेर नयाँ मन्त्रिमण्डल गठन गरेका थिए । पुनर्गठित मन्त्रिमण्डलमा सहभागी भएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, रास्वपा र जसपा सहभागी छन् ।

उक्त कार्यदलमा सरकारमा सहभागी ५ दलबाट समान २–२ जना सहभागी छन् । नयाँ गठबन्धनको कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा।मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्