Logo

एमालेलाई धोकाः माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने



काठमाडौं, १४ चैत । नेकपा (माओवादी केन्द्र) ले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ । आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ र बझाङ–१ (क) मा माओवादीले आफ्नै उम्मेदवार उठाउन लागेको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार आज (बुधबार) बसेको पार्टी पदाधिकारी बैठकले दुवै ठाउँमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।

‘आजको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने, बझाङमा पनि उठाउने निर्णय भएको छ । व्यक्तिको बारेमा निर्णय गर्न चाहिँ सिफारिस पनि आउँदै छ । अलि छलफल पनि बाँकी छ । अर्को बैठकमा टुङ्गो लाग्ला,’– बैठकको निर्णय सुनाउँदै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

इलाम–२ को उम्मेदवारमा माओवादीबाट धिरेन शर्मा, कान्छा लावती र ओमबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

सत्तारुढ गठबन्धन दलहरु माओवादी, एकीकृत समाजवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा चलेको थियो । एमालेले यसअघि नै सुहाङलाई उम्मेदवार बनाइसको छ ।

इलाम–२ बाट माओवादीका तीन जना नेताको नाम उम्मेदवारको रुपमा सिफारिस भएर आएको भए पनि कसलाई टिकट दिने भन्नेबारे आजको बैठकमा टुंगिएको छैन ।



प्रतिक्रिया दिनुहोस्