काठमाडौं, १८ चैत । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री सम्मानित भएका छन् । शनिबार काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले संयुक्त रुपमा उनलाई सम्मान गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशील रहँदै देश र जनतालाई सुसूचित गराउन र समग्र पत्रकारिताको विकास र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका क्षेत्रीको योगदानको उच्च मूल्याङ्कन गर्दै क्लबको वार्षिकोत्सवको अवसरमा सम्मान प्रदान गरिएको हो ।
‘नेपाली पत्रकारिता क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रहँदै देश र जनतालाई सुसूचित गराउँदै समग्र पत्रकारिताको विकास र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको तपाईं सम्मानित व्यक्तित्व हुनुहुन्छ । सञ्चारकर्ममा सक्रिय रहँदै यसको विकास र विस्तारमा तपाईंले महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । तपाईंले पुर्याउनु भएको योगदान प्रशंसनीय छ । तपाईंको यो योगदानको उच्च कदर स्वरूप रिपोर्टर्स क्लब नेपाल तपाईं श्री रामकुमार क्षेत्रीज्यूलाई २६औं बार्षिकोत्सव– २०८० को अवसरमा विशेष सम्मानद्वारा अभिनन्दन गर्दछ,’– सम्मानपत्रमा भनिएको छ ।
क्लबको २६औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायधीस हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक अगुवासहित विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।