काठमाडौं, १९ चैत । सामाजिक अभियन्ता मोहमद रहमानले आफूमाथि आरती रावल गिरीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आरती रावलले आफूमाथि विना कारण आरोप लगाएको बताएका हुन् ।
आफ्नै श्रीमान न्यायाधीश भुवन गिरीमाथि वैवाहिक बलात्कारको आरोप लगाएर चर्चामा आएकी आरतीले आफूमाथि प्रेस मिट गर्न दिएको पैसा प्रेसमिट नगरी खाएको र सर्वोच्च अदालतमा विष दिएको भनेर आरोप लगाएको उनले बताए ।
‘गत माघ १ गतेदेखि भृकुटीमण्डपमा आफ्नो पति विरुद्ध आमरण अनसनमा बसेकी आरती रावल गिरीले मलाई प्रेसमिट गर्नका लागि १२ हजार दिएको, प्रेसमिट नगरी मैले उक्त रकम खाएको कुरा र सर्वोच्च अदालतमा मैले आरती रावल गिरीलाई विष दिएको भन्ने कुरा आएको पाइयो । मिडियाहरुले मलाई सोधपुछ नै नगरी आरती रावल गिरीको एकतर्फी कुरा सुनेर म सामाजिक अभियन्ताको चरित्र हत्या गर्नेगरी प्रशारण गरिएको झुटा समाचारप्रति खेद प्रकट गर्दछु’– उनले भने ।
आफूले मृतक आरती साहको न्यायका लागि आमरण अनसनमा बसेका उनका बाबुआमालाई भेट्न जानेक्रममा आरती रावलसँग भेट भएको उनले बताए । सो क्रममा आरतीले आफूसँग सहयोग मागेको र आफूले आर्थिक सहयोगसमेत गरेको बताए ।
आमरण अनसनको नाटक गरेर आरतीले लुकीलुकी मासु, परौठा, चिकेन रोस्टजस्ता परिकारहरु खाएको उनको आरोप छ । आरतीले आमरण अनसनको नाटक गरी आम जनताबाट सहानुभूति बटुलेको उनको भनाइ छ । आफूले आरती श्रीमानबाट पीडित भएकै हो कि भन्ने लागेर सहयोग गरेको भएपनि उनको धेरै कतुर्तहरु खुल्दै गएको बताए ।