काठमाडौं, २० चैत । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस नयाँ सरकार बनेको दिनदेखि नै विरोधमा उत्रिएको टिप्पणी गरेका छन् । नयाँ सरकार बनेको एक सय दिनसम्म सामान्यतः विरोधन नगर्ने परम्परा भएपनि त्यसलाई समेत कांग्रेसले विर्साउँदै सुरु दिनदेखिनै आन्दोलन सुरु गरेको बताए ।
साथै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्वाग्रह राखेर आरोप लगाएको उनले बताए । नेता बर्तौलाले गृहमन्त्रीका बारेमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रष्ट रुपमा जवाफ दिएको बताए । अब एमालेले गृहमन्त्री लामिछानेका बारेमा बोल्दा प्रधानमन्त्रीकै भनाइलाई रिफ्रेन्स लिएर बोल्ने उनले बताए ।
‘सम्माननीय प्रधानमन्त्रीले जवाफ दिने क्रममा माननीय गृहमन्त्रीको बारेमा अनुसन्धानको विभिन्न प्रक्रियाको बारेमा जे सूचना उहाँले प्राप्त गर्नुभयो, त्यसको बारेमा उहाँले प्रष्ट जवाफ दिनुभयो । त्यसलाइ रिफ्रेन्स मानेर बोल्ने हो भने हामी के भन्न सक्छौं भने गृहमन्त्रीप्रति लगाइएको आरोप पूर्वाग्रहबाट प्रेरित छ,’– उनले भने ।