काठमाडौं, २० चैत । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले अख्तियार र अदालतको नियतमाथि प्रश्न उठाएका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने नेतालाई कुनै कारबाही नभएको र कर्मचारीमात्रै मुद्दा मामिलामा परेको बताए । साथै, टीकापुरको जग्गा घोटला प्रकरणमा दुई जना नेतालाई उन्मुक्ति दिइएको उनको दाबी छ ।
‘भ्रष्टाचार गर्ने नेता, भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री, तर मुद्दा कर्मचारीलाई मात्रै लाग्ने । यो भयो अख्तियारको नियत । किनकी दलको भागबण्डाबाट अख्तियार बनेको छ ।’ उनले भने, ‘दलको नेता, दलको मालिक भनिसकेपछि मुद्दा लगाउन हुँदैन । टीकापुरको जग्गाको बारेमा थियो । त्यो अनुसन्धान गरेको अधिकृतले मलाई आफैं भनेको हो । तर, माथिको आदेश आयो, नेतालाई मुद्दा नलगाऊँ ।’
मुद्दा लगाउने प्रक्रियामा अख्तियारले टेरामक्स र एमडीएमएसमा सबै मन्त्रीलाई चोखो देखेको उनको भनाइ छ । नेतालाई अदालतले पनि छुन नसकेको उनको दाबी छ ।