Logo

सहकारी ठगी प्रकरणमा छानविन समितिको मागबाट कांग्रेस पछि हट्दैनः नेता पौडेल



काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन् । नयाँवर्ष २०८१ सालको पूर्वसन्ध्यामा आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका हुन् ।

‘विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ,’– उनले भने । काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले प्रश्नहरु उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताए ।

उनले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताए । ‘सहकारीको विषय कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो,’– उनले भने ।

अरुलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उनको भनाइ छ । नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए ।

उनले पछिल्लोे समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने बताए । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्