Logo

गणतन्त्रविरुद्ध अन्तिम धक्का दिने तयारीमा छौंः रविन्द्र मिश्र (भिडियोसहित)



काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफहरु वर्तमान व्यवस्थाको विरुद्ध अन्तिम धक्का दिने तयारीमा रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समान सोच र विचार भएका व्यक्ति, समूह र पार्टीसँग छलफल र समन्वय गरी संघीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा अन्तिम धक्का दिने तयारी रहेको बताएका हुन् । साथै, राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको जनप्रर्दशन २०६२/०६३ यताकै सबैभन्दा ठूलो भएको उनको दाबी छ ।

‘२७ गते हामीले विशाल प्रदर्शन गर्यौं । त्यो विशाल प्रदर्शन २०६२/०६३ यताको सबैभन्दा ठूलो राजनीतिक शक्ति प्रदर्शन हो । अब के गर्ने भनेर हामीले योजना गर्दैछौं । हामी समान सोच भएका समूह र पार्टीहरुसँग कयौं चरणमा हाम्रो छलफल भइसकेको छ ।’ उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समान सोच र विचार भएका पार्टी, व्यक्ति र समूहसँग संवाद गर्ने, समन्वय गर्ने जिम्मा मलाई नै दिइएको छ । म र केही साथीहरु भएर संवाद गरिरहेका छौं । धेरै चरणको संवाद भइसक्यो । हाम्रो प्रयास सम्पूर्ण समान सोच र विचार भएका साथीहरु आएर अब अन्तिम धक्का दिने हो भनेर हामी तयारी गर्दैछौं ।’

अहिले २०६२/०६३ को भन्दा ठूलो जनमत राप्रपाको एजेण्डामा रहेको उनले बताए । नेता मिश्रले आफूहरुसँग चुनावी मत नभएपनि जनमत भने प्रशस्तै रहेको दाबी गरे । उनले राप्रपाका मूलभूत एजेण्डाहरु संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य र संघीयता खारेजी रहेको बताए । ती तीन वटा एजेण्डाको केन्द्रमा पूर्व राजा ज्ञानेन्द्र रहेको उनको भनाइ छ । ज्ञानेन्द्र जुम्ला जाँदा, भक्तपुर, तराई र झापा जाँदा देखिएको उभारका कारण आफूहरुको एजेण्डा सही रहेको पुष्टि भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्