काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले नेपाली राजनीतिमा रवि लामिछाने जति गन्हाएको पात्र कोही पनि नरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेका दुई वटा नागरिकता, दुई वटा राहदानीलगायतका काण्डमा विवादित बनेको उनले बताएका हुन् ।
‘रवि लामिछाने प्रोपोगाण्डा गरेर राजनीतिमा आउनु भएको हो । उहाँ जति गन्हाएको मान्छे नेपाली राजनीतिमा कोही पनि छैन । जसको दुई वटा नागरिकता, दुई वटा राहदानी छ । जसले आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई मर्न बाध्य बनायो । जसको निर्वाचनताका चालकलाई तीन तलामाथिबाट खसालेर मार्ने षड्यन्त्र गरियो,’– उनले भने ।
लामिछानेमाथि लागेको सहकारी ठगी आरोप छानविनका लागि संसदीय समिति गठन नभई आगामी दिनमा संसद् पनि नचल्ने र सडकमा पनि आवाज उठिरहने उनको भनाइ छ । सहकारी ठगी प्रकरणलाई लिएर नागरिक समाज, बुद्धिजीवी, नागरिक समाजलगायतका निकायहरु गृहमन्त्री लामिछानेको विरुद्धमा तयार भइरहेको उनको दाबी छ । गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा सरकारको आड लिएर जोगिन खोजेको उनको आरोप छ ।