Logo

प्रतिनिधि सभामा दुई सय ७४ जनाको भन्दा मेरो तौल बढी हुनेछः स्वतन्त्र उम्मेदवार थेगिम



काठमाडौं, २९ चैत । प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको डकेन्द्रसिंह थेगिमले प्रतिनिधि सभामा दुई सय ७४ जना सांसदको भन्दा आफू एक्लैको तौल बढी हुने बताएका छन् । आज (बिहीबार) चुनावी अभियानका क्रममा चुलाचुली गाउँपालिका–५ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफूलाई जिताएर पठाएको खण्डमा सशक्त रुपमा पहिचान र अस्तित्वको पक्षमा आवाज घन्काउने बताएका हुन् ।


‘हामीलाई कम्तिमा पनि पहिचान र अस्तित्व देउ न, हाम्रो ऐतिहासिक पृष्ठभूमिका आधारमा यो प्रदेशको नामाकरण गर न भन्दा हामीलाई अत्याचार गरिएको छ । त्यसको विरुद्धमा मेरो उम्मेदवारी हो । मलाई विजयी गराउनुस् । मैले जितेपछि मलाई एकपटी राख्ने र अर्को पट्टी दुई सय ७४ जनालाई राख्यो भने त्यो भन्दा बढी ओजन मैले खिचेको हुन्छु ।’ उनले भने, ‘म सधै तपाईँहरुको आवाज घन्काउँछु प्रतिनिधि सभामा । सधैं जनताको हक अधिकारको कुरा उठाउँछु । भोलि यहाँ ऐतिहासिक पृष्ठभूमिको आधारमा ४१ घटकले यो प्रदेशको नाम के हुनुपर्छ त्यो कुरालाई म सर्वसम्मत स्वीकार गरेर पेश गर्छु ।’

यसअघि पटक–पटक दलका प्रतिनिधिलाई जिताउँदा उनीहरुले फर्केर नहेरेको उनको भनाइ छ । यसअघि पटक–पटक प्रतिनिधि सभामा दुई सय ७५ जना नै पहिचान विरोधी पुगेको उनको टिप्पणी छ । थेगिमले मुलुक बनाउन दुई सय ७५ जना नचाहिने र एउटा स्वतन्त्र उम्मेदवारको विचार उपयुक्त हुने बताए । उनले भने, ‘ पटक–पटक हामीले विभिन्न पार्टीहरलाई जिताएर पठायौं । सरकारमा गइसकेपछि फर्केर हेरेनन् । अब यस पटक चाहीँ हाम्रो स्वतन्त्र साझा उम्मेदवार, कुनै दलमा पनि आवद्ध नभएको व्यक्तिलाई पठाऔं भन्ने तपाईँले मनोविज्ञान निर्माण गर्नुस् । तपाईँहरुले मलाई निर्वाचित गरेर पठाउनु भयो भने यो कुरालाई संघीय प्रतिनिधि सभामा अत्यन्तै दह्रोसाथ कुरा उठाउँछु । मान्छेले के भन्छन् भने यो एउटा मान्छेले गएर के कुरा उठाउला ? उनीहरु पटक–पटक दुई सय ७५ जना गए । सबै पहिचान विरोधीहरु गए । उनीहरुले यो मुलुकका लागि केही गरेनन् । नेपाललाई आज संसारको गरिब देश बनाए । मुलुक बनाउन दुई सय ७५ जना चाहिँदैन । एक जना व्यक्ति भए हुन्छ । एउटा स्वतन्त्र उम्मेदवारको विचार मुलुकका लागि उपयुक्त हुनसक्छ ।’

साथै, अहिले देशमा व्यापक भ्रष्टाचार रहेको उनले बताए । उम्मेदवार थेगिमले अहिले बैंकमा पैसा नरहेर सबै नेताहरुको घर–घरमा थुप्रो लागेको बताए । उनले नेताहरुले बैंकमा पैसा जम्मा गर्न आयस्रोत खुलाउने आधार नहुँदा घरमा थन्काएर राख्नु परेको बताए । ‘अहिले मुलुकमा व्यापक भ्रष्टाचार छ । बैंकमा पैसा छैन, सबै नेताहरुको घर–घरमा छ । बैंकमा पैसा राख्दा कहाँबाट आयो भनेर देखाउन पर्छ । जस्तै, एउटा कर्मचारीले २०/२५ हजारदेखि लिएर ६०/७० हजार रुपैयाँ पैसा कमाउँछ । उनीहरुले त्यो पैसा बैंकमा जम्मा गर्नुपर्यो भने आयश्रोत के हो त भन्दा तलब भन्छ । तर, एउटा नेताले रातमा करोडौं सम्पत्ति कमाउँछ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्