काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर ‘फेस सेभिङ’ गर्न खोजेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय छानविन समितिले कसैलाई पनि कारबाही गर्न नसक्ने बताए ।
छिमेकी देशहरुमा वहालवाला मन्त्री, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री पक्राउ परेको, अनुसन्धान भएको, थुनामा राखेको नजीर रहेको उल्लेख गर्दै उनले वहालवालालाई छानविन गर्नै हुँदैन, सोधपुछ पनि गर्न हुँदैन भन्ने कुरा गर्न नहुने बताए । ‘सोधपुछ, छानविन संसदीय समितिले गर्ने भनेको चाहीँ फेस सेभिङ गर्न खोजेको हो नेपाली कांग्रेसले । उठाइहाल्यो कुरा, संसदीय छानविन समितिले कसैलाई कारबाही गर्न पनि सक्दैन । संसदीय छानविन समिति इन्भेष्टिगेटर पनि होईन । अनुसन्धान गर्ने निकाय जुन छ, छुट्टै निकाय र कानुन छ । त्यसले छानविन र कारबाही गर्न सक्छ । संसदीय समितिले छानविन गर्यो भनेपनि पठाउने ठाउँ त्यही हो । फलानो दोषी हो भन्न पाइँदैन,’– उनले भने ।
छानविन समिति बनेकै खण्डमा उपप्रधान एवं गृहमन्त्री रहेका रवि लामिछानेले पदबाट राजीनामा दिनु आवश्यक नरहेको उनको भनाइ छ । नेता बिडारीले संसदीय समिति बनेको गफ गर्न, भत्तासत्ता खान, रमाइलो गर्न र फेस सेभिङ गर्न बन्ने गरेको टिप्पणी गरे । छानविन समितिले कसैलाई सजाय गर्न, मुद्दा दायर गर्न र दोषी करार गर्न नपाउने उनको भनाइ छ ।
‘छानविन समिति बनाउँदैमा रविजीले राजीनामा दिनुपर्छ भन्ने पनि हुँदैन । संसदीय छानविन समितिले दोषी करार गर्न पनि मिल्दैन । संसदीय छानविन समितिले कसैलाई सजाय गर्न वा मुद्दा दायर गर्न पनि सक्दैन । गफ गर्ने, भत्तासत्ता खाने, रमाइलो गर्ने, फेस सेभिङ गर्ने हो,’– उनले भने ।