काठमाडौं, ३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) मा दक्षिणपन्थी अवसरवादी चरित्र हाबी भएको बताएका छन् । आज (सोमबार) एमाले संसदीय दलको बैठकमा ओलीले एकीकृत समाजवादीको चर्को आलोचना गरेका हुन् । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेसलाई सघाएकोतर्फ लक्षित गर्दै उनले भने, ‘दक्षिणपन्थी अवसरवादी चरित्र नाङ्गो ढंगले प्रकट भयो । यसले फरक पार्नेवाला छैन ।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वर्तमान सत्ता समीकरण कमजोर बनाउने दाउमा रहेको उनको ठम्याइँ छ ।
अध्यक्ष नेपालले कम्युनिष्टको साइनबोर्ड राखेर कांग्रेसको पक्षमा काम गरेको ओलीले टिप्पणी गरे । ‘अराजनीतिक प्रवृत्ति बहुतै हाबी भएको छ । एस भन्ने पार्टी छ एउटा । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक भएर अर्को गुटबाट जाने र कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने, यो समीकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्न सक्ने भनेर हिजोमात्रै मुख्यमन्त्रीको दाबी गर्ने दिन थियो सुदूरपश्चिममा । एकीकृत समाजवादी कि के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो,’- उनले भने।
जनतमा आशा पलाउने प्रकृतिका काम वर्तमान सरकारले थालनी गरेको अवस्थामा अध्यक्ष नेपाल नेतृत्वको पार्टीले उल्टो कदम सुरु गरेको उनको भनाइ छ ।