Logo

गृहमन्त्रीको बचाउमा एमाले नेताको टिप्पणीः ‘मुद्दा हालेकै भरमा पद छाड्ने हो भने प्रधानमन्त्रीविरुद्ध बढी मुद्दा छन्’



काठमाडौं, ५ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले उजुरी परेकै भरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुद्दा परेकै भरमा राजीनामा दिने हो भने अहिले प्रधानमन्त्रीका विरुद्धमा धेरै मुद्दा रहेको टिप्पणी गरे । यद्यपि, एमाले ठगहरुको पक्षमा नउभिने उनको भनाइ छ ।

‘एमाले ठगहरुको पक्षमा किमार्थ उभिँदैन । आज पनि उभिएको छैन । मुद्दा हालेको भरमा पद छोड्दै हिँड्ने हो भने नेपालमा सबैभन्दा बढी प्रधानमन्त्रीका विरुद्ध मुद्दा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर कति मुद्दा दायर हुन्छन् ? प्रधानमन्त्रीको कयौं दित त प्रतिउत्तरमा हस्ताक्षर गर्दागर्दै बित्छ,’– उनले भने ।

एमाले एक जनाको पनि बचत अपचलन र असुरक्षा हुन हुँदैन भनेर लागिपरेको उनले बताए । कसैको पनि लगानी खतरामा पर्न नहुने एमालेको बटम लाइन रहेको उनले बताए ।

नेपाली कांग्रेसले अरु केही विषय नपाएर एक वर्षदेखि कास्की जिल्ला अदालतमा विचाराधीन रहेको सहकारी ठगी प्रकरण संसद्मा प्रवेश गराएको उनको टिप्पणी छ । साथै, मिडियाले निरन्तर उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि प्रहार गरिरहेको उनको भनाइ छ । ‘मिडियाका साथीहरुले रवि लामिछानेमाथि तातो झिर घोचिरहनु भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्