Logo

सीपलाई रोजगारी र उत्पादनसँग जोडेर व्यवहारिक बनाउँछौंः सुनिता डंगोल



काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो । सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताईन् ।

‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौं,’– उनले भनिन् ।

तालिममा धेरै सहभागी देख्दा थप आफूलाई थप जिम्मेवारी महसुस भएको उनले बताए । कार्यक्रम उपस्थित सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, ‘धेरै संख्या देख्या एकातिर महानगरपालिकाप्रति यहाँहरुले गर्नुभएको विश्वासप्रति अझै काम गर्नु पर्ने महसुस भयो । अर्कोतिर देशमा वेरोजगारको ’यसलाई स्थानीय तहमा विस्तार गर्नु पर्ने देखियो । हामी आफैँसँग रोजगारीका अवसर छन् । यसलाई पहिचान गरौँ । यहीँ केही गर्न सकिन्छ । गरी खाने वातावरण बनाउन सकिन्छ । यतातिरको मनोविज्ञान विकास गरौँ ।’

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ । सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् ।

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटररवेट्रेस प्रशिक्षण हुनेछ । सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।

मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्÷ड्रेस मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ ।

आठौँ क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ । नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनेछन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्