काठमाडौं,२० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिनका लागि उनले बुधबार नै प्रदेश सभामा पत्र पठाएको प्रदेश सभा सचिवालयले जनाएका छ ।
वैशाख ६ मा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।
सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा बिचाराधीन रहेको छ । मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीले उनको नियुक्ति बदर गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गरिपाउँ भन्दै दायर रिटमाथि २३ गतेबाट पूर्ण सुनुवाई हुँदैछ ।
चौधरीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । ६ गतेनै मुख्यमन्त्री नियुक्त सोडारलिे हालसम्म सरकारलाई पूर्णता दिन भने सकेका छैनन् ।
प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् ।
मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् ।
सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा (एमाले)ले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन ।