Logo

गरिबलाई देखिनसहेको भन्दै बालेनविरुद्ध खनिए ओली, सुकुम्बासीका लालाबाला नतर्साउन चेतावनी



काठमाडौं, २० वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सुकुम्बासी र गरिबलाई देखिनसहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिएका हुन् । सुकुम्बासीका छाप्रा भत्काउन डोजरको आवश्यकता नरहेको उनको भनाइ छ । उनले गरिबको बस्ती भत्काउन गरिबकै छोराछोरीको प्रयोग नगर्न पनि आग्रह गरे ।

‘सुकुम्बासीका प्लाष्टिक हालेका छाप्रा छन्, भत्काउन जान्छ डोजर । सुकुम्बासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाड्न बन्चरो लिएर जाने ? सुकुम्बासीको समस्या समाधान गर्नुपर्यो, डोजर देखाउने होईन । डोजर गरिबले नै चलाउने हुन्, कुनै धनीले पुँजीपतिले डोजर चलाएको थाहा छैन । गरिबका छोराले डोजर चलाउने हो । तिनलाई आफ्नै विरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिबकै विरुद्ध, गरिबवस्तीकै विरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस्,’– उनले भने ।

अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन आग्रह गरे । सुकुमवासीको आवासको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । जनताको काम गर्न सरकारका गएको दाबी गर्दै उनले सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए । समस्या समाधानमा सुकुम्बासी कहिले पनि बाधक नभएको बताए । उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुरी नहुने बताए । ‘ज्यादती सुकुम्बासीमाथि नगरौं । कहीँ हेप्ने मान्छे भेटिएन अनि गरिब हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीका लालाबाला तर्साएर कुन बहादुरी हुन्छ ?’ उनले प्रश्न गरे ।

सुकुम्बासी समस्या समाधानका लागि तीनै तहका सरकार उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले लोकतन्त्रमा जे पनि गर्न नमिल्ने बताउँदै सुकुम्बासीलाई लखेट्ने नभएर व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । ‘जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर’ भन्ने प्रकारका अनुत्तरदायी र गरिब देख्नै नसक्ने सरकार हुन नहुने उनको भनाइ छ ।

‘सुकुम्बासी बस्ती हटाउनुमात्रै होईन । जथाभावी गर्नेमात्रै हो भने त के भयो र सुकुम्बासीहरुलाई लखेटिदिए भो, मारिदिए भो, जे पनि गर्ने हो भने । तर, जे पनि गर्न मिल्दैन लोकतन्त्रमा, व्यवस्थापन गर्नुपर्छ ।’ उनले भने, ‘समस्या समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर भन्ने सरकार हुँदैन । त्यो केन्द्रीय सरकार होस् कि प्रदेश सरकार होस् कि स्थानीय सरकार । जनताप्रति उत्तरदायित्व नलिने, अनुत्तरदायी, गरिब भनेको देख्नै नसक्ने, सुकुमबासी देख्नै नहुने ।’ Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्