Logo

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले छिट्टै राजीनामा दिनुपर्छः पूर्वमन्त्री किराती



काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको गृहमन्त्री लामिछानेको दलको एजेण्डा नै नैतिकताको रहेकाले आरोप लागेपछि राजीनामा दिन उपयुक्त हुने बताए । जनता र नेतृत्वबीचमा रहेको अविश्वासको खाडलमा नैतिकताको एजेण्डा अगाडि बढाएर अनुमोदित भएका लामिछानेले राजीनामा दिएर उक्त पदमा पार्टीका अरु कोही सांसदहरुलाई पठाउनु उपयुक्त हुने बताए ।

‘उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेज्यू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हुनुहुन्छ । नेपाली राजनीतिमा देखिएको नैतिक संकटको कारणले ठूलो अविश्वासको खाडल नेतृत्व र जनताको बीचमा छ । उहाँले नै आफैंले नैतिकताको एजेण्डा उठाएर निर्वाचनबाट अनुमोदित भएर आउनु भएको छ ।’ उनले भने, ‘मलाई लाग्छ अब छिट्टै उहाँले निकास दिनुपर्छ । यो उहाँको लागि, हाम्रो पुस्ता र देशको लागि पनि हो । उहाँले कानुनद्वारा र प्रक्रियाद्वारा प्रमाणित भएर आउनुपर्छ । यतिखेर उहाँले आफ्नै पार्टीको कुनै जिम्मेवार मान्छेलाई त्यो पद दिँदा भइहाल्यो नि । त्यसो गर्दा सबैभन्दा राम्रो हुन्छ ।’

संसद्मा देखिएका समस्यालाई सत्तापक्षले बेवास्ता गर्न नहुने उनको सुझाव छ । उनले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन हुँदैन भन्न नहुने बताए । विगतमा पनि यस्ता धेरै विषयमा समिति बनाएर छानविन भएको नजिर स्मरण गराउँदै उनले छानविन समिति बनाउन आनाकानी गरेको अवस्थामा सत्तारुढ दल, रास्वपा र स्वयं लामिछानेमाथि पनि ब्याक फायर हुनसक्ने उनको भनाइ छ ।

‘संसद्मा समस्या आइसकेको छ । सत्तापक्षको तर्फबाट हामीले त्यतिधेरै बेवास्ता गर्न हुँदैन । हिजो पनि यस्ता शिलशिलाहरुमा अध्ययन समितिहरु बनेका छन् । आज बनाउन हुँदैन भन्ने तर्क गर्दै गयौं भने त्यसले हामीलाई पनि राम्रो गर्दैन ।’ उनले भने, ‘हामीमाथि पनि ब्याक फायर हुनसक्छ । मुख्यतः सम्बन्धित पात्र र पार्टीमाथि पनि ब्याक फायर हुन्छ । त्यसकारणले हामीले समयमै बुद्धि पुर्याउन पर्छ । इलामको उपनिर्वाचनले पनि केही संकेत दिएको छ । त्यसलाई मनन गरेर हामी अगाडि बढ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्