Logo

आफ्नो पार्टीकी सांसद सहकारी ठगीमा जोडिएको विषयमा छानबिन गर्न सरकारसँग राप्रपाको माग



काठमाडौं । राप्रपाले आफ्नो पार्टीकी सांसद गीता बस्नेत सहकारी ठगीमा जोडिएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेको छ ।

२ दिनसम्म बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न माग गर्दै छानबिनमा सहयोग पुर्याउन बस्नेतलाई पनि निर्देशन दिने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकामा सोसम्बन्धी छानबिनमा सघाउ पुर्‍याउन निजलाई निर्देशन दिइयो । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धित त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चितवनको सनराइज, पूर्वी नवलपरासी (नवलपुर) को छिपछिपे र बर्दियाको नमस्ते सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ बिनाधितो ऋण लिएर आफ्नो समूहको रिसोर्टमा लगानी गरेको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुर जिल्ला प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अघि बढाएको प्रक्रियाअनुसार जिल्ला अदालतले सांसद बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्