Logo

केन्द्रमा माधव नेपालको हर्कतले दिक्क बनेका ओली प्रदेशबाट बदला लिँदै



काठमाडौं,२१ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि डाकिएको प्रदेश वैठक बस्ने नबस्ने अझै अन्यौलता कायमै छ ।

सोडारीले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

नेकपा एकीकृत समाजवादीका नेता सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्तिको संस्थापन पक्ष (अध्यक्ष रञ्जिता श्रेष्ठ)का दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्य रहे पनि सो पार्टीको आन्तरिक किचलोका कारण दुई जनाले मात्रै मुख्यमन्त्रीलाई समर्थन गरेका छन् ।

उनलाई समर्थन गरेका नागरिक उन्मुक्तिका कैलाश चौधरी र टीका थापा दुवै जना मन्त्री नियुक्त भइसकेका छन्। मुख्यमन्त्रीले गएको मङ्गलबार नागरिक उन्मुक्ति पार्टीबाट थप एक मन्त्री थपे पनि सरकारले अझै पूर्णता पाइसकेको छैन । आज विश्वासको मत लिन लागेका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम चौधरी पक्षले ह्वीप जारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।

नेकपा एमालेले भने हालसम्म विश्वासको मत दिने कुनै निर्णय नभएको जनाएको छ । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाँकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ ।

बझाङमा भएको उपनिर्वाचनमा एमालेको जितले मुख्यमन्त्री सोडारीको पक्षमा सहज रूपमा बहुमत पुगेपनि बझाङबाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ । हालै निर्वाचित भण्डारी पितृ शोकमा छन् । एमालेले भण्डारी पितृ शोकबाट मुक्त भएपछि सोडारीले विश्वासको मत लिनुपने बताउँदै आएको छ ।

त्यसोत, सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेपनि एमाले तत्काल स्वीकार नगर्ने पक्षमा थियो । एमालेले सोडारी बाहेकको नाम दिन आग्रह गरेपनि समाजवादीले मानेको थियो । एकीकृत समाजवादीले एमालेले सर्मन नगरेमा नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने तयारी गरेपछि बाध्य भएर एमालेले समर्थन गरेको थियो ।

एमाले–माओवादी–रास्वपासहित आफूसमेत रहेको केन्द्रको सत्ता गठबन्धन भत्काउन नेपाल सक्रिय रहेको भन्दै एमालेले सुदूरमा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आनाकानी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहीवार भएको छलफलपछि सुदुरपश्चिम इन्चार्जले आज विश्वासको मत दिन निर्देशन दिएका थिए । तर, एमाले आश्वस्त हुन सकेको छैन ।

केन्द्रमा एमाले माओवादीसहितको गठबन्धनमा एकीकृत समाजवादी छ । तर, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जसरी पनि यो गठबन्धन भत्काउने पक्षमा लागेका छन् । प्रचण्डलाई सत्ताच्युत गरेर आफै प्रधानमन्त्री बन्ने ध्याउन्नमा नेपाल लागेपछि एमाले माओवादी शसंकित बनेका छन् । नेपालको गतिविधि सशंकित लागेपछि बिहीबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच २ घण्टा लामो वार्ता भएको थियो । सो वार्तापनि एकीकृत समाजादीको पछिल्ला गतिविधिमा केन्द्रीत थियो ।

गत शनिबार इलाम र बझाङमा उपनिर्वाचन भएको थियो । इलामको उपनिर्वाचनमा एमाले र माओवादीले साझा उम्मेदवार उठाउँदा बझाङमा भने सबैले एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । एकीकृत समाजवादीले इलाम र बझाङ दुवैमा उम्मेदवार उठाएको थियो । तर, दुवैतिर जमानत जफत भयो । जमानत जफत भएपनि बझाङमा समाजवादीले एमाले हराउने अभियानमा लागेको भन्दै एमालेमा असन्तुष्टि छ । चुनावको २ दिनअघि केन्द्रमा बझाङमा समाजवादीले एमालेलाई सघाउने सहमति भएको एमालेको दाबी छ । तर, समाजवादीले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

केन्द्रमा सत्ता समीकरण बनेको २ महिना हुन नलाग्दै एकीकृत समाजवादीले भत्काउन तर्फ लागेपछि दिक्क बनेका एमाले अध्यक्ष ओलीले माधवसँग बदला लिनकै लागि सुदूर सरकारलाई तत्काल विश्वासको मत दिन आनाकानी गरेको टिप्पणी हुन थालेको छ ।

विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको जनाइएको छ । प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्