काठमाडौं,२१ वैशाख । दिन प्रतिदिन डढेलाले वन तथा गाउँबस्ती सखाप हुन लागेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नयाँ अभियान सुरु गर्ने भएको छ ।
पालिकाले पालिका क्षेत्रभित्र कसैले डढेलो लगाउन लागेको प्रमाणसहित पालिकालाई दिएमा ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो ।
पालिकाको हालै बसेको आकस्मिक बैठकले सो निर्णय गरेको पालिका अध्यक्ष निमा ग्याल्जेन शर्पाले जानकारी दिए ।
‘…पछिल्ला केही दिनयता देशका अन्य भूभागलगायत हेलम्बु गाउँपालिका क्षेत्रका वनमा समेत डढेलो लगाउने क्रियाकलापहरू बढेको देखिन्छ। त्यस्ता क्रियाकलापहरूबाट वन क्षेत्रलगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने विषय आम जानकारीको विषय नै हो भने कानुनले बर्जित गरेको विषय समेत हो’, गाउँपालिकाको सूचनामा भनिएको छ, ‘तसर्थ, आम हेलम्बुबासीलगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउनेजस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाहि गरिने विषय समेत सबैलाई सूचित गरिन्छ। साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे सप्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई रु ५००००।– नगद पुरस्कार दिइने व्यहोरासमेत जानकारी गराइन्छ।’