काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले कांग्रेसले सरकार ढाल्ने उद्देश्यले सहकारी ठगी प्रकरणमा एउटा व्यक्तिलाई मात्रै किटान गरेर संसदीय छानविन समितिको माग गरेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले राजनीतिक अस्थिरता चाहिरहेको बताएका हुन् । उनले कांग्रेसले व्यक्ति नै पिच्छे प्रधानमन्त्री बाँड्दै हिँडिरहेको समेत दाबी गरे ।
‘नेपालको एउटामात्रै सहकारीमा समस्या होईन। समग्र देशभरका लाखौं सहकारी पीडितहरुलाई पनि न्याय निरुपण गर्नुपर्ला नि ? कांग्रेसको माग भनेको त एउटा सहकारीमा केन्द्रीत रहेर, गृहमन्त्रीमाथि केन्द्रीत रहेर, राजनीतिक पूर्वाग्रहसहित सत्ताबाट बाहिरिनु परेको आवेगात्मक परिस्थिति छ त्यसको निरन्तरता हो ।’ नेता दाहालले भने, ‘कांग्रेसको नियतमाथि नै शंका छ । कसरी हुन्छ अस्तिरता निम्त्याउने, वर्तमान सरकारलाई कसरी शून्यमा झार्ने भनेर कांग्रेसले व्यक्ति नै पिच्छे प्रधानमन्त्री बाँड्दै हिँडेको कुरा पनि यहाँले थाहा पाइराख्नु भएको छ। सरकार ढाल्ने उद्देश्यले उठाइएको मुद्दा हो भनेर बुझनुपर्छ ।’
मााओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो पार्टी संसदीय दलको बैठकमा सहकारी ठगलाई कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय निरुपण गर्नका निम्ति समग्र सहकारीको विषयलाई छानविन गर्ने उद्देश्यले संसदीय छानविन समिति बनाउन सकिनेबारे ब्रिफिङ सुनाएको उनले बताए । न सकिन्छ । कुनै व्यक्तिगत हिसाबले, कुनै व्यक्तिलाई किटेर संसदीय समिति बनाएर सहकारी समस्या समाधान हुँदैन भन्ने धारणा प्रधानमन्त्रीको रहेको उनले बताए ।