![](https://reportersnepal.com/wp-content/uploads/2024/05/Bhagbati-Chuadhary-768x512.webp)
काठमाडौं, २३ वैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले अब छोराछोरीहरुले आफ्नो कमाइको १० प्रतिशत रकम आमाबाबुको हेरचाहमा खर्च गर्नुपर्ने कानुन कार्यान्वयन हुन लागेको बताएकी छन् । आज (आइतबार) राष्ट्रिय जेष्ठ नागरिक कोषले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त नियम नियमावलीबाट पारित भइसकेको र अब कार्यविधि बनाएर लागू गरिने बताएकी हुन् ।
‘आफ्नो कमाइको १० प्रतिशत रकम बुबाआमाको लागि खर्च गर्नुपर्छ भन्ने कुरा त्यो नियमावलीमा आइसकेको हुनाले त्यो नियमावलीलाई कार्यविधिमै रुपमान्तर गरेर ७५३ वटै पालिकामा कसरी पठाउने भन्नेबारे कानुन मन्त्रालयबाट आइसकेको छ । हामी यसलाई मन्त्रिपरिषद्मा फर्वाड गर्दैछौं । नियमावलीमा आइसकेको छ । यसलाई कार्यान्वयनमा पुर्याउन हामी अगाडि बढ्दैछौं । यो राम्रै हुन्छ,’– मन्त्री चौधरीले भनिन् ।
जेष्ठ नागरिकहरुलाई मनमोहन अधिकारी नेतृत्वको सरकारको पालाबाट सहयोग सुरु भएको उनले स्मरण गरिन् । अहिले नेपालमा जेष्ठ नागरिकहरुको समस्या धेरै रहेको पनि उनले बताईन् । जेष्ठ नागरिकहरु आफ्नै सन्तान र समाजबाट अपहेलित हुनुपर्ने अवस्था रहेकोमा हालै निर्माणको पक्रियामा रहेको उक्त कार्यविधिले राहत प्रदान गर्ने उनको भनाइ छ ।
साथै, उनले आफू धेरै ठूलो जिम्मेवारी रहेको मन्त्रालयको मन्त्री भएपनि काम गर्न बजेट अत्यन्तै न्यून रहेको बताईन् । आफूले जेष्ठ नागरिक, बालबालिका, महिला, अल्पसंख्यक सबैको अधिकार समेटेर काम गरिरहेको उनले बताईन् । उनले आफ्ना बाबुआमा नबिर्सन सबैलाई अपिल गरिन् ।
कार्यक्रममा जेष्ठ नागरिक समर्पित विशिष्ट समाजसेवी सम्मान तथा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान गरिएको थियो । साथै ०८१ सालको क्यालेन्डर सार्वजनिकीकरण र वितरण समेत गरिएको थियो ।
मन्त्री चौधरीले जेष्ठ नागरिक सम्मान–२०८१ अन्तर्गत मदनकुमार श्रेष्ठ र अहल्या श्रेष्ठलाई सम्मान गरिन् । श्रेष्ठ दम्पतिले जेष्ठ नागरिक दिवा सेवा केन्द्र बाँडे गाउँलाई भवन निर्माणका लागि १४ लाख सहयोग र जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि १० लाखको अक्षयकोष स्थापना गरेका थिए ।
त्यसैगरी, ८१ वर्षको उमेरमा पनि सक्रिय भएर पत्रकारिता जगतलाई योगदान पुर्याउने फोटोपत्रकार श्याम चित्रकार, सिद्धिशालिग्राम जेष्ठ नागरिक आश्रमका संस्थापकहरु अध्यक्ष श्याम सुन्दर धौभडेल, उपाध्यक्ष रञ्जना धौभडेल, देवीघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुप्रसाद नेपाल र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष ८१ वर्षीय भरतलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई मन्त्री चौधरीले खादा लगाइदिएर प्रमाणपत्रसहित सम्मान गरिन् ।
कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, समाज कल्याण परिषद्का कोषध्यक्ष विनय लामा, सदस्य सचिव मनोज भट्टलगायतको उपस्थिति रहेको थियो ।
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/Jestha-nagarik-kosh-2-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/Jestha-nagarik-kosh-3-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/Jestha-nagarik-kosh-1-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/Basantaraj-Kari-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/jestha-nagarik-kosh-5-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/jestha-nagarik-kosh-4-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/jesthanagarik-kosh-11-768x512.webp)
![](https://reportersnepal.com/wp-content/uploads/2024/05/4-1-768x512.webp)