Logo

पार्टी विभाजनले पद संकटमा परेपछि मधेशका मुख्यमन्त्री यादवले बोलाए आकस्मिक बैठक



काठमाडौं,२४ वैशाख । सत्ता गठबन्धन भत्काउने खेलमा उपेन्द्र यादव लागेको भन्दै बहुमत केन्द्रका सांसदहरु मिलेर पार्टी विभाज गरेर नयाँ पार्टी गठन गरेपछि जनता समाजवादी पार्टी नेपालमा तरंग पैदा भएको छ ।

जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राईले आइतबार ७ सांससहित जसपा विभाजन गरेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको मुख्यमन्त्री पदपनि संकटमा परेको छ । यसबारेमा छलफल गर्न यादवले आकस्मिकरुपमा संसदीय दलको बैठक डाकेका छन् ।

विकसित नयाँ परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले सोमबार प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाएका हुन्।
यादव जसपा मधेश प्रदेश संसदीय दलका नेता हुन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस, जनमत पार्टी र लोसपा यादवको विपक्षमा छन्।

मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक प्रदेश सांसद छन्।

हालको सत्ता गठबन्धनका आधारमा मुख्यमन्त्री यादवले वैशाख ४ गते विश्वासको मत लिँदा ६१ सांसदको समर्थन पाएका थिए।

एमाले २४, जसपाका १९, माओवादी केन्द्रका नौ, नेकपा एकीकृत समाजवादीका सात सांसदको समर्थन उनले पाएका थिए।



प्रतिक्रिया दिनुहोस्