काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि राजनीतिकवृत्त तरङ्गित भएको छ । जसपा नेपाल विभाजनपछि अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश भएको छ । जसपा विभाजनको असर अन्य दलमा पनि पर्ने संकेत देखिन थालेको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका छन् । त्यस्तै, अन्य साना दलमा पनि जसपा नेपाल विभाजनको असर स्वरुप खैलाबैला सुरु भएको छ ।
उपेन्द्र यादवनिकट एक सांसदका अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इन्ट्रेस्टमा जसपा नेपाल विभाजन भएको हो । साना दल फुटाएर संसद्को सबैभन्दा ठूला दल बन्ने रणनीतिमा एमाले अध्यक्ष ओलीले गृहकार्य गरिरहेको उनको दाबी छ ।
साथै, जसपा नेपाल बाहेक अन्य दलहरु नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र पनि चरम असन्तुष्टि रहेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी फुटको संघारमा रहेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार एकीकृत समाजवादीका बहुसंख्यक सांसदहरुले पुरानै घर फर्किनका लागि लविङ गरिरहेका छन् । उनीहरु पार्टी एकताका लागि निरन्तर संवादमा रहेका महासचिव पोखरेलले बताए ।
त्यस्तै, एकीकृत समाजवादी ६०/४० को रेसियोमा विभाजन हुने निश्चित रहेको स्रोतको दाबी छ । एकीकृत समाजवादीका सांसदहरु प्रेम आले, किसान श्रेष्ठ, धन बहादुर बुढा, प्रकाश ज्वाला, भानुभक्त जोशी, शेर बहादुर कुँवर विद्रोह गर्ने मुडमा छन् । उनीहरुले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेतृत्वको जिम्मेवारी दिएर माधव नेपालसँग विद्रोह गर्ने तयारी गरेको स्रोतको दाबी छ । त्यस्तै, माधव नेपालसँग राजेन्द्र प्रसाद पाण्डे, अम्मर बहादुर थापा, मेटमणी चौधरीमात्रै रहने बताइएको छ ।
यसरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग विद्रोह गरेर जनता समाजवादी पार्टी दर्ता गराएका अधिकांश नेताहरु एमाले पृष्ठभूमिका छन् । अशोक राई, सुशिला श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, रन्जु ठाकुरलगायतका नेताहरु पूर्वएमाले हुन् । मो. इस्तियाक राई पनि कम्युनिष्ट पृष्ठभूमिकै नेता हुन् । यस आधारमा जसपा नेपालबाट विद्रोह गरेका ७ सांसद र एकीकृत समाजवादीमा विद्रोहको तयारीमा रहेका ६ जना गरी १३ जना सांसदलाई पार्टीमा समाहित गराएर एमालेलाई संसद्को सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा ओली देखिएका छन् ।
अहिले प्रतिनिधि सभामा एमालेको ७८ मत छ । आफ्नो रणनीतिमा ओली सफल भएको खण्डमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई उछिन्दै एमाले पहिलो दल बन्ने छ ।